“बहिनीको दया छ भने, रोदीघर दाइ नाच्यो नभने”
नारायणगोपाल र मीरा राणाको स्वर रहेको यस गीतका रचनाकार हुन्, चेतन कार्की। चलचित्र ‘परिवर्तन’ मा समावेश यस गीतका शब्दले रोधींलाई माया, पिरती गाँस्ने र नाचगान गर्ने थलोका रूपमा परिभाषित गरेको छ। त्यसो त चेतन कार्कीको रचना रहेको यस गीतमा मात्र होइन, रोधींलाई जोडेर रचना गरिएका अन्य साहित्यिक सिर्जनामा पनि रोधींलाई मनोरञ्जनस्थलकै विम्ब मानेको पाइन्छ। हामीले रोधीं टाइप गरेर गुगल गर्यौँ भने पनि सयौँ तस्बिर भेटिन्छन् तर ती सबै नाचगान र लोकदोहारी गीत गायनसँग जोडिएको पाइन्छ।
नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको नेपाली बृहत शब्दकोशमा रोधींलाई यसरी परिभाषित गरिएको छ, ‘विशेषतः गुरुङ जातिमा प्रचलित, राति निश्चित ठाउँमा ठिटा–ठिटीहरू भेला भएर गीत गाउने, ख्यालठट्टा गर्ने मनोरञ्जक कार्यक्रम।’ नेपाली बृहत शब्दकोशमा उल्लिखित यही परिभाषामा आधारित रहेर सहज बुझाइका लागि कतिपयले रोधींलाई ‘नाइट क्लब’ पनि भन्ने गरेका छन्। र, यस तुलनालाई पछिल्लो समय थप मलजल गरेको छ, काठमाडौं लगायत केही सहरी क्षेत्रमा नामको पछाडि ‘रोधींघर’ जोडेर सञ्चालनमा रहेका दोहोरी रेस्टुरेन्टहरूले।
रोदी कि रोधीं
रोधींलाई कहीँ रोदी त कहीँ रोधी लेखेको पाइन्छ। माथि उल्लिखित गीत र अन्यत्र पनि रोदीघर वा रोधींघर लेखेको भेटिन्छ। रोदी, रोधी वा रोधीं कुन शुद्ध हो त ? लमजुङमा रोधीं बस्दै हुर्केका र लोकगीत-संगीतमा गहिरो अध्ययन गरेका वरिष्ठ लोकगायक कृष्ण गुरुङ भन्छन्, “बोलीचालीमा रोदी भनिए पनि शुद्ध शब्द चाहिँ रोधीं हो।” गुरुङका अनुसार गुरुङ भाषामा ‘धीं’ को अर्थ घर हुन्छ र रोधीं ‘घर’ सँग जोडिएको शब्द हो।
रोधींसम्बन्धी गहन अध्ययन गर्नुका साथै करिब तीन दशकअघि रोधीं परिवार काठमाडौंले प्रकाशन गरेको त्रैमासिक पत्रिका “रोधीं सांस्कृतिक साहित्य” को पहिलो अंकमा अनुसन्धनात्मक लेख समेत छपाएका उनले ‘रोधीं’ लाई विकृत रूपमा परिभाषित गरिएको र शब्द तथा त्यसको अर्थमा समेत तोडमोड गरिएको भन्दै चिन्ता व्यक्त गरे। रोधीं गुरुङ सांस्कृतिक परम्परासँग जोडिएको विशुद्ध सांस्कृतिक शब्द हो। विशिष्ट अर्थ रहेका सांस्कृतिक शब्द तोडमोड गरिँदा त्यो अर्थहीन बन्न पुग्छ। रोधींमा पहिल्यै ‘घर’ आइसकेको छ। त्यसैले रोधींघर भनियो भने त्यो ‘क्यापटोपी’ भनेजस्तो हुन जान्छ।
रोधीं शब्दको उत्पत्ति
रोधीं दुई फरक शब्द गुरुङ भाषाको शब्द ‘रो’ र ‘धीं’ को समास भएर बनेको शब्द हो। रोधीं शब्दको उत्पत्तिबारे दुई फरक भनाइ पाइन्छ। पहिलो सिकारी युगसँग जोडिएको छ भने, दोस्रो पशुपालन युगसँग। ‘धीं’ भनेको घर हो। यसमा कुनै फरक मत छैन। ‘रो’ को अर्थबारे भने केही फरक मत रहेका छन्। एकथरी अध्येताले ‘रो’ भनेको ‘सुत्नु’ हो भनेका छन् भने अर्कोथरीले ‘रो’ लाई ‘बुन्नु’ सँग जोडेका छन्।
‘रो’ लाई ‘सुत्नु’ भन्ने अर्थसँग जोडेकाहरूले भनेका छन्, ‘सिकारी युगमा उमेर पुगेका जवानहरू सिकार खेल्न जान्थे। अस्थायी बसोबास गरेका स्थानको छेउछाउका घरमा जंगली जनावरले आक्रमण गर्ने डर हुन्थ्यो। त्यसैले घरमा रहेका वृद्धवृद्धा, बालबालिका तथा महिलाहरू बस्तीको बीचमा रहेको ठूलो घरमा सुत्थे। त्यसरी सबैजना भेला भएर सुत्ने घर नै अन्ततः रोधींका रूपमा विकसित भएको हो।’
‘रो’ लाई ‘बुन्नु’ भनेर अथ्र्याएका अध्येताले भने गुरुङ जातिको मुख्य पेसा भेडापालन रहेको र रोधींमा ‘राडीपाखी’ को काम गरिने उल्लेख गरेका छन्।
रोधीं परम्पराबारे अध्ययन गर्नुका साथै कलम पनि चलाएका चन्द्रलाल गुरुङले ‘रोधीं सांस्कृतिक साहित्य’ कै दोस्रो अंकमा लेखेका छन्, “गुरुङ भाषामा ‘रू’ ले बुन्ने वा तुन्ने भन्ने अर्थ राख्छ। राडीपाखी नै बुन्ने काम त घरभित्र हुँदैन। त्यसको तान लामो हुन्छ तर ऊन कात्ने, बख्खु बुन्नेजस्ता काम चाहिँ घरभित्र पनि हुन सक्छ। त्यसैले ‘रू’ बाट ‘रो’ हुँदै र ऊन चलन गर्ने घर भन्ने बुझाउन रोधीं भनिएको हुन सक्छ।” रोधींमा सुत्नेभन्दा पनि गीत गाउँदै र ऊनचलन गर्दै कसरी रात कटाउने भन्ने होडबाजी चल्ने भएकाले ‘सुत्ने घर’ भन्ने अर्थ नमिल्दो रहेको उनको तर्क छ।
के हुन्छ रोधींमा ?
रोधीं गुरुङ जातिमा प्रचलित एक विशिष्ट सांस्कृतिक परम्परा हो। ऊनचलन गर्ने काम निकै पट्यारलाग्दो हुन्छ। कृषि युगमा आएपछि रोधींमा मकै छोड्याउने, भटमास केलाउने जस्ता काम पनि हुन थाले। यस्ता काम पनि पट्यारलाग्दो नै हुन्छ। त्यसैले रोधींमा रात कटाउने उपाय खोज्न र सोच्न थालियो। सोही क्रममा रोधींमा नाचगान सुरु भएको चन्द्रलाल गुरुङले उल्लेख गरेका छन्। त्योभन्दा पनि रोधीं गुरुङ युवायुवतीलाई सामाजिकीकरणमा अभ्यस्त गराउने मूल थलो रहेको उनको भनाइ छ।
युवा र युवतीको रोधीं अलग–अलग हुन्छ। रोधींअन्तर्गत आबद्ध युवा वा युवतीको समूहलाई “रोप्स्यो” भनिन्छ र रोप्स्योको प्रमुख व्यक्तिको नामबाट रोधीं समूहको नाम राख्ने चलन हुन्छ। त्यस्तै, टोलको नामबाट पनि रोधीं समूहको नाम राख्ने गरेको पाइन्छ। रोप्स्योमा प्रायः उमेर मिल्नेहरू आबद्ध हुन्छन्। त्यसैले अलि उमेर ढल्केकाहरूको, जवान युवायुवतीको र अलि कम उमेर भएकाहरूको गरेर अलग–अलग रोप्स्यो समूह वा रोधीं हुने गरेको पनि गुरुङले उल्लेख गरेका छन्।
युवतीहरूले स्थापना गरेको रोधींमा युवाहरूले डम्फु र मादल ल्याएर उपहार दिएपछि बल्ल ‘रोधीं’ ले पूर्णता पाउँछ। त्यस क्रममा “धीँम्ए रीँम्ए, थीँम्ए म्हम्ए” गर्नुपर्छ। केटाहरूका लागि केटीहरू गर्ने धीँम्ए रीँम्ए र केटीहरूका लागि केटाहरू गर्ने थीँम्ए म्हम्ए हुन्छ। केटीहरूको रोधींमा जाँदा केटाहरूले वा केटाहरूको रोधींमा जाँदा केटीहरूले विभिन्न कोसेली लैजानुपर्छ। रोप्स्यो समूहका नाइके, गाउँका गन्यमान्य बोलाएर धीँम्ए रीँम्ए, थीँम्ए म्हम्ए गरिन्छ। त्यसपछि एकआपसमा बलियो सम्बन्ध रहेको रोधीं भनेर साइनो गाँस्ने काम हुन्छ।
रोधींमा बुन्ने, तुन्ने ऊनचलनको कामसँगै मकै छोड्याउने जस्ता काम हुन्छ नै, सँगसँगै भोलि कसको मेलामा जाने भन्ने सल्लाह पनि हुन्छ। त्यस्तै, हाटबजार जाने सल्लाह रोधींमै गरिन्छ। कुनै परिवारमा परिवारका सदस्य थोरै छन् वा काम गर्ने उमेर पुगेकाहरू।